नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को निमित्त प्रबन्धक निर्देशकमा रिना डंगोल नियुक्त हुनुभएको छ । मिति २०८२/१०/२२ को सम्मानीय प्रधानमन्त्री एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री स्तरीय निर्णय अनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मिति २०८२/१०/२३ च.न. संस्थान १६३९ को नियुक्ति पत्रबाट उहाँलाई निमित्त प्रबन्ध निर्देशक तोकिएको छ।
नवनियुक्त निमित्त प्रबन्धक निर्देशक रिना डंगोलले बङ्गलादेश युनिभर्सिटीबाट इलेक्ट्रोनिक्स एण्ड इलेक्ट्रिकल विषयमा बिइ गर्नुभएको छ । उहाँ २०५१ जेष्ठ १ बाट तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियर पदमा अस्थायी नियुक्ति लिएर सेवा प्रवेश गर्नुभई २०५२ जेष्ठ ९ मा स्थायी नियुक्ति लिनुभएको थियो।
उहाँ २०८० जेठ ३२ देखि नेपाल टेलिकमको नायब प्रबन्धन निर्देशक निमित्त हुनुभएको थियो र प्रादेशिक निर्देशनालय विराटनगर र काठमाडौँ एवं वायरलाइन तथा ग्राहक सेवा निर्देशनालयको निर्देशकको जिम्मेवारी समेत पूरा गरिसक्नुभएको छ। उहाँ हाल प्रमुख प्राविधिक अधिकृतको रुपमा कार्यरत हुनुहुन्थ्यो ।
पदभार ग्रहण गर्दै नवनियुक्त निमित्त प्रबन्ध निर्देशक डंगोलले आफूप्रति नेपाल सरकारले देखाएको विश्वास र सद्भावका लागि धन्यवाद व्यक्त गर्दै ग्राहकको चाहना र सरकारको प्राथमिकता बमोजिम कम्पनी कर्मचारी र राष्ट्रको हितलाई केन्द्रमा राखेर अगाडि बढ्ने बताउनुभयो ।
उहाँले कम्पनीलाई ग्राहक केन्द्रित प्रविधिमैत्री र आर्थिक रुपमा सक्षम बनाउँदै सार्वजनिक दायित्व र प्रतिस्पर्धात्मक क्षमतालाई सन्तुलित रुपमा अघि बढाउने विचार व्यक्त गर्नुभयो आफ्नो स्पष्ट दृष्टिकोण सार्वजनिक गर्दै उहाँले आत्मविश्वास प्रतिबद्धता र साझा उद्देश्यका साथ अघि बढ्न कर्मचारीहरुलाई आह्वान गर्नुभयो ।