नेपाल टेलिकमले आ.व. २०८२/८३ को प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। जसले कम्पनीको आय, मुनाफा तथा वित्तीय अवस्थामा केही गिरावट आएको देखाएको छ ।
आय
यस आ.व. को प्रथम त्रैमासिकसम्म कुल सञ्चालन आय रु. ८ अर्ब ६७ करोड ९५ लाख १५ हजार रहेको छ। यो रकम गत आ.व. को सोही अवधिको कुल सञ्चालन आय रु. ८ अर्ब ६८ करोड १ लाख ८६ हजार को तुलनामा रु. ६ लाख ७१ हजार अर्थात् ०.०१ प्रतिशतले कमी भएको हो।
यस आ.व. को प्रथम त्रैमासिकसम्म कुल आय रु. ९ अर्ब ४७ करोड १० लाख ५१ हजार रहेको छ। यो रकम गत आ.व. को सोही अवधिको कुल आय रु. १० अर्ब ६ करोड ३७ लाख ३६ हजार को तुलनामा रु. ५९ करोड २६ लाख ८५ हजार अर्थात् ५.८९ प्रतिशतले कमी भएको छ।
मुनाफा
यस आ.व. को प्रथम त्रैमासिकसम्म EBITDA रु. ४ अर्ब ७५ करोड ४ लाख ७१ हजार रहेको छ। गत आ.व. को सोही अवधिको EBITDA रु. ५ अर्ब ४१ करोड ५९ लाख २६ हजार को तुलनामा यो रु. ६६ करोड ५५ लाख ६ हजार अर्थात् १२.२९ प्रतिशतले कमी भएको छ।
यस आ.व. को प्रथम त्रैमासिकसम्म कर अघिको मुनाफा रु. २ अर्ब ८८ करोड २१ लाख १६ हजार रहेको छ। यो रकम गत आ.व. को सोही अवधिको कर अघिको मुनाफा रु. ३ अर्ब ५५ करोड ३६ लाख ९४ हजार को तुलनामा रु. ६७ करोड १५ लाख ७८ हजार अर्थात् १८.९० प्रतिशतले कमी भएको हो।
यस आ.व. को प्रथम त्रैमासिकसम्म खुद मुनाफा रु. १ अर्ब ३२ करोड ५१ लाख ७५ हजार रहेको छ। यो रकम गत आ.व. को सोही अवधिको खुद मुनाफा रु. १ अर्ब ७३ करोड ९५ लाख ९० हजार को तुलनामा रु. ४१ करोड ४४ लाख १५ हजार अर्थात् २३.८२ प्रतिशतले कमी भएको हो।
कम्पनीको प्रति शेयर आम्दानी (EPS) रु. २९.४५ रहेको छ।
गत वर्षको तुलनामा आय तथा मुनाफामा कमी हुनुका मुख्य कारणहरू
राजस्व तथा खुद मुनाफामा कमी आउनुका पछाडि नेपाल टेलिकमले विभिन्न कारणहरू प्रस्तुत गरेको छ:
- OTT सेवाहरूको व्यापक प्रयोगका कारण विदेशबाट हुने आगमन कलको परिमाण घट्यो। यसको प्रभाव अन्तरआवद्धता आयमा पनि पर्यो, जसले गर्दा उक्त शीर्षकको आय गत आ.व. को प्रथम त्रैमासिकको तुलनामा करिब रु. १० करोड ९७ लाख ४२ हजार अर्थात् १७.२९ प्रतिशतले कमी भयो।
- बजारमा व्याजदरमा ह्रास आएपछि मुद्दती निक्षेपबाट प्राप्त ब्याज आम्दानी करिब रु. ५० करोडले घट्यो, जसका कारण ब्याज आम्दानीमा उल्लेख्य कमी देखियो।
- कर्मचारी सुविधा खर्च वृद्धि भएको छ। कर्मचारी बीमा खर्च रु. १.९५ करोडले बढेको छ। साथै, NAS 19 अनुसार योगदानमा आधारित पेन्सन योजनाको दायित्व गणनाका लागि प्रयोग हुने Discount Rate ७.५% बाट ७% मा घट्दा अवकाश (Retirement) सम्बन्धी खर्च रु. १६.५ करोडले बढेको छ। यसका कारण कुल कर्मचारी खर्चमा रु. ८.८ करोडको वृद्धि भएको हो।
- राष्ट्रको सञ्चार दायित्व वहन गर्ने संस्थाका रूपमा नेपाल टेलिकमले विकट तथा दुर्गम क्षेत्रमा सेवा विस्तार र गुणस्तर सुधारका कामलाई निरन्तरता दिइरहेको छ। यी क्षेत्रमा लागत उच्च हुने हुँदा खर्च बढेको छ तर प्रतिफल अपेक्षाकृत कम रहने भएकाले कुल वित्तीय परिणाममा दबाब परेको छ।