नेपालको डिजिटल ट्राभल क्षेत्रमा अग्रणी अनलाइन प्लेटफर्म ट्रिप टर्बो र स्थापित नबिल बैंक लिमिटेडबीच एक महत्वपूर्ण सहकार्य सुरु भएको छ। यस सहकार्यपछि नबिल बैंकका ग्राहकहरूले अब एनबैंक मोबाइल एपबाटै बस टिकट, स्वदेशी तथा अन्तर्राष्ट्रिय हवाई टिकट र विविध यात्रा सेवाहरू सहज रूपमा बुक गर्न सक्ने छन्।
यस सम्झौतालाइ हस्ताक्षरसहित औपचारिकता दिइएको छ । हस्ताक्षर पत्रमा नबिल बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत आदर्श बजगाईं र ट्रिप टर्बोका ग्रोथ तथा मार्केटिङ प्रमुख विमल राज पौडेलले हस्ताक्षर गरेका हुन्। यस सहकार्यले बैंकिङ सेवा र अनलाइन ट्राभल बुकिङलाई एउटै डिजिटल माध्यममा जोडेर प्रयोगकर्तालाई सरल, तीव्र र सुरक्षित सेवा दिने छ ।
यो पनि: NEPALPAY Card जारी गर्न एनआईसी एशिया बैंक र एनसीएचएलबीच सम्झौता
कसरि प्रयोग गर्ने?
एनबैंक एप प्रयोगकर्ताले Home > More > Marketplace मा प्रवेश गरी ट्रिप टर्बो विकल्प छान्न सक्नेछन्। यसपछि ट्रिप टर्बोको बुकिङ प्रणालीमा आवश्यक यात्रा सेवा खोजी, तुलना र बुकिङ गर्न सकिने छ । साथै, भुक्तानी प्रक्रिया पनि एनबैंक एपमै सम्पन्न हुने भएकाले छुट्टाछुट्टै एप प्रयोग गर्नुपर्ने झन्झट हुँदैन ।
ट्रिप टर्बोका संस्थापक शिखर प्रसाईंका अनुसार, प्रविधिको सहायताले यात्रालाई सजिलो बनाउने लक्ष्यअनुसार नबिल बैंकसँगको सहकार्यले एनबैंक एपमार्फत सुरक्षित र सहज यात्रा योजना बनाउन नयाँ अवसर सिर्जना गरेको छ।
यसैगरी, नबिल बैंकका आदर्श बजगाईंले एनबैंक मार्केटप्लेसमा ट्रिप टर्बो जस्ता नयाँ साझेदार थपिनु सकारात्मक कदम भएको बताए। “एनबैंकको मार्केटप्लेसमा अर्को एउटा महत्त्वपूर्ण साझेदार थप्न पाउँदा हामी खुसी छौँ । यसले हाम्रा ग्राहकहरूलाई यात्राको योजना बनाउन थप सहजता प्रदान गर्नेमा हामी विश्वस्त छौँ,” उनले भने ।
यो सुविधा हाल सबै एनबैंक प्रयोगकर्ताका लागि उपलब्ध भइसकेको छ।