राजनीतिक एसएमएस प्रसारणमा बोल्यो एनसेल- ग्राहकका डाटा सुरक्षित छन्

एक बल्क एसएमएस सेवा प्रदायकमार्फत ठूलो संख्यामा एक राजनीतिक सन्देश एसएमएसमार्फत प्रसारण भएको घटनाप्रति एनसेलले आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएको छ । उक्त अनधिकृत एसएमएस एनसेलका ग्राहकलाई प्रसारण भएको नपाईएको पनि स्पष्ट पारेको छ ।

घटनाको समीक्षा तथा सम्भावित जोखिमको मूल्याङ्कनपछि, उक्त एसएमएस प्रसारण गर्ने कम्पनीसँग साझेदारी गरेको भ्यालु एडेड सर्भिस कम्पनी आकाश टेकलाई सचेत गराईएको कम्पनीले बताएको छ । साथै एनसेलले दूरसञ्चार सेवाको अनधिकृत वा राजनीतिक उद्देश्यका लागि हुने दुरुपयोगप्रति शून्य सहनशीलताको नीति राखेको कुरा स्पष्ट पारेको छ ।

सरकारी दुरसंचार प्रदायक नेपाल टेलिकमले पनि राजनीतिक संदेश प्रवाह भएको सम्बन्धमा ग्राहक सूचना कुनै व्यक्ति वा संघसंस्थालाइ वितरण नगरिएको आफ्नो विज्ञप्तिमा बताएको थियो ।

एनसेलले प्रचलित कानून, नियम, नैतिक मापदण्ड तथा ग्राहकको डाटा गोपनीयता उल्लङ्घन गर्ने कुनै पनि सामग्रीका लागि आफ्ना सेवाको प्रयोग कडाइका साथ निषेध गर्दै कुरा साझा गरेको छ । सूचना सुरक्षा र डाटा गोपनीयताका लागि आईएसओ २७००१ र आईएसओ २७७०१ मान्यता प्राप्त गर्ने नेपालकै पहिलो दूरसञ्चार कम्पनीका रूपमा, एनसेल ग्राहकको डाटा सुरक्षा र वैयक्तिक गोपनीयतामा उच्चतम मापदण्ड कायम गर्दै आएको बताएको हो ।

“एनसेलमा ग्राहकको व्यक्तिगत डाटा सुरक्षित राख्न प्राविधिक, सञ्चालनगत तथा सम्झौतागत सुरक्षात्मक व्यवस्था लागू गरिएको कुरा जानकारी गराउन चाहन्छौं । ग्राहकको डाटा कुनै पनि अनधिकृत उद्देश्यका लागि साझा गरिँदैन वा दुरुपयोग हुन दिइँदैन,” कम्पनीले आफ्नो विज्ञप्तिमा भनेको छ ।

एनसेल आफु एक जिम्मेवार सेवा प्रदायकका रूपमा सधैं प्रचलित कानूनको पालना गर्दै आफ्ना ग्राहक तथा सरोकारवालाको विश्वास कायम राख्दै निरन्तर सेवा प्रदान गर्न प्रतिबद्ध भएको पनि स्पष्ट पारेको छ ।

Leave a Comment