कोभिड–१९ को महामारीमा संक्रमणको परवाह नगरी फ्रन्टलाइनमा बिरामीको सेवामा दिनरात खटिनुहुने चिकित्सक, नर्स, फार्मेसिष्ट लगायत सबै स्वास्थ्यकर्मीहरुको मनोबल उच्च राख्न र थप हौसला प्रदान गर्नका लागि नेपाल टेलिकमले धन्यवाद स्वास्थ्यकर्मी अफर (Thank You Health Care Worker Offer) उपलब्ध गराउने भएको छ । यस सम्बन्धी सम्झौतामा आज (२०७८ जेठ ९ गते) नेपाल टेलिकम र नेपाल चिकित्सक परिषद, नेपाल नर्सिंंग परिषद, नेपाल फर्मासिष्ट परिषद, नेपाल स्वास्थ्य व्यवसायी परिषद र नेपाल आयुर्वेदिक परिषदबीच हस्ताक्षर सम्पन्न भएको छ ।
यस अफर अन्तर्गत देशभरका स्वास्थ्यकर्मीहरुले प्रयोग गरिरहनुभएको आफ्नो नाममा रहेको नेपाल टेलिकमको पोस्टपेड/प्रिपेड सिमकार्डमा एक महिनासम्म निःशुल्क भ्वाइस कल उपलब्ध गराइने छ र स्वास्थ्यकर्मीहरुले आफ्नो मोबाइल नम्बरबाट नेपाल टेलिकमको नेटवर्कभित्र जुनसुकै समयमा गर्ने कल निःशुल्क गरिनेछ । पोस्टपेड मोबाइलको हकमा भने नियमानुसार लागु हुने रेन्टल चार्ज कायमै रहनेछ ।
स्वास्थ्यकर्मीहरुको सूची र मोबाइल नम्बरसहितको आधिकारिक पत्र स्वास्थ्यसँग सम्बन्धित परिषदहरु (नेपाल चिकित्सक परिषद, नेपाल नर्सिंंग परिषद, नेपाल फर्मासिष्ट परिषद, नेपाल स्वास्थ्य व्यवसायी परिषद र नेपाल आयुर्वेदिक परिषद) ले आफ्नो लेटर हेडमा नेपाल टेलिकमलाई उपलब्ध गराए पश्चात यो अफर उपलब्ध गराइने छ ।
स्वास्थ्यकर्मीले यसरी लिनुहोस् यो सुविधा
स्वास्थ्यकर्मीहरुको आफ्नै नाममा रहेको सिम कार्डमा मात्र उल्लिखित अफर उपलब्ध हुने भएकाले आफ्नो नाममा कम्पनीको सिमकार्ड नहुने स्वास्थ्यकर्मीहरुले नयाँ सिमकार्ड लिनका लागि सम्बन्धित परिषदको आधिकारिक लेटर प्याडमा स्वास्थ्यकर्मीको नाम तथा विवरण उल्लेख गरी नेपाल टेलिकमलाई उपलब्ध गराउनु पर्नेछ अथवा स्वास्थ्यकर्मीको सम्बन्धित परिषदको परिचय पत्रका आधारमा नयाँ सिमका लागि भर्नुपर्ने फाराम नियमानुसार भरी नेपाल टेलिकमको नजिकको काउन्टरबाट तत्कालै निःशुल्क सिम प्राप्त गर्न सकिने छ । यसरी प्राप्त गरिने नयाँ सिममा उल्लिखित धन्यवाद स्वास्थ्यकर्मी अफर समावेश गरिनेछ ।
टेलिकमले यो अफर स्वास्थ्यकर्मीहरुको आफ्नै नाममा रहेको सीममा मात्रै उपलब्ध गराउने जानकारी दिएकोले सुरुमा आफुले प्रयोग गरिरहेको सिम कसको नाममा छ भनेर *९२२# डायर गरेर थाहा पाउन सकिन्छ ।
नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका डाक्टहरुले यो सुविधा लिन यहाँ क्लिक गरी आफ्नो नाम, एनएमसी नम्बर र मोबाइल नम्बर लगायत विवरण भरेर पठाउनु पर्छ ।
त्यस्तै नेपाल स्वास्थ्य व्यसायी परिषदमा दर्ता भएका स्वास्थ्यकर्मीहरुले यहाँ क्लिक गरेर आफ्नो नाम, दर्ता नम्बर, इमेल, मोबाइल नम्बर लगायत विवरण राखेर पठाउनु पर्नेछ ।
नेपाल नर्सिङ परिषदमा दर्ता भएका नर्सहरुले यहाँ क्लिक गरी नाम, इमेल, दर्ता नम्बर, मोबाइल नम्बर लगायतका आफ्नो विवरण भरेर पठाउनु पर्नेछ ।
त्यसैगरी नेपाल फार्मेसी परिषदमा दर्ता भएका फार्मासिस्टहरुले यहाँ क्लिक गरी आफ्नो नाम, नागरिकता नम्बर, दर्ता नम्बर, फोटो, ठेगाना, फोन नम्बर लगायतका विवरण भरेर पठाउनु पर्नेछ ।
कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व (Corporate Social Responsibility: CSR) अन्तर्गत प्रदान गरिने यो अफरको समयावधि कोरोना महामारीको अवस्था हेरी थप गर्न सकिने कम्पनी ले जनाएको छ । ।