११ विधामा ‘आइसिटी अवार्ड २०२१’ को अनलाइन नोमिनेशन शुरू

सूचना तथा सञ्चार प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा स्थापित आइसिटी अवार्डको छैटौं संस्करणको अनलाइन नोमिनेशन (आवेदन) आज (असार ८, २०७८ तदनुसार २२ जुन, २०२१) देखि शुरु भएको छ । लिभिङ विथ आइसिटीको आयोजना र विभिन्न सरकारी तथा निजी संस्थाहरूको सहकार्यमा आयोजना हुने ‘आइसिटी अवार्ड २०२१’ को लागि विभिन्न ११ विधाहरूमा अवार्डको नोमिनेशन खुला गरिएको छ ।

दोस्रो लहरको कोभिड संक्रमण दर केही घटिरहेको अवस्थालाई मध्यनजर गर्दै आइसिटी अवार्ड २०२१ को अनलाइन नोमिनेशन खुला गरिएको छ । गतवर्ष पहिलो लहरको संक्रमणको अवधिमा अधिकांश कार्यक्रम स्थगन भए पनि आइसिटी अवार्ड २०२० भर्चुअल माध्यमबाट नोमिनेशन र छनौट प्रक्रिया अघि बढाउँदै डिसेम्बर २३, २०२० मा सोल्टी होटलमा विशेष कार्यक्रम मार्फत १२ विधाका विजेतालाई सम्मान गरिएको थियो । 

ICT award 2021 nomination call online

यस वर्षको आइसिटी अवार्डमा अधिकांश छनौट समितिका मिटिङहरू भर्चुअल सञ्चालन हुने आयोजकले जानकारी दिएको छ । आइसिटी अवार्डको छनौट प्रक्रियाको लागि दुई दर्जनभन्दा बढी जुरी र सल्लाहकारहरू रहेका छन् । विभिन्न ११ विधामा इच्छुक व्यक्ति, कम्पनी, प्रडक्ट वा संस्थाहरूले २०७८ साउन १६ गतेसम्म आवेदन दिन सक्नेछन् । अवार्डमा प्रतिस्पधी आफै वा अन्य कसैले अनलाइन नोमिनेशन दर्ता गरिदिन सकिनेछ । अवार्डमा नोमिनेशन गर्न आइसिटी अवार्ड डटओआरजी (www.ictaward.org) वेबसाइटमा गएर विधा छनौट गरी फारम भरेर बुझाउनुपर्नेछ ।

यस वर्ष गतवर्ष झैं विभिन्न ११ विधामा नोमिनेशन खुला गरिएको छ । स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड गरी ३ विधाहरू स्टार्टअप तथा प्रोजेक्टलाई अवार्ड गरिने विधाहरू रहेका छन् । व्यक्तिलाई प्रदान गरिने अवार्डहरूमा पायोनियर आइसिटी अवार्ड, नेपाली डायस्पोरा आइसिटी अवार्ड, आन्टरप्रेनर आइसिटी अवार्ड र वुमन आइकन आइसिटी अवार्ड छन् ।

यसैगरी सरकारी तथा निजी संस्थाहरूलाई प्रदान गरिने अवार्डहरूमा डिजिटल एजुकेशन आइसिटी अवार्ड (पब्लिक सेक्टर), डिजिटल एजुकेशन आइसिटी अवार्ड (प्राइभेट सेक्टर), डिजिटल गभर्नेन्स आइसिटी अवार्ड (पब्लिक सेक्टर) र डिजिटल सर्भिसेस आइसिटी अवार्ड (प्राइवेट सेक्टर) रहेका छन् ।

सन् २०१६ देखि शुरु भएको आइसिटी अवार्डमा विभिन्न विधामा गरेर अहिलेसम्म ५० भन्दा बढी व्यक्ति, संस्था, कम्पनी तथा प्रडक्टहरू सम्मानित भइसकेका छन् । अवार्डमा गतवर्षको ह्वावे आइसिटी अवार्ड २०२० मा ४०० सयभन्दा बढीको अनलाइन आवेदन प्राप्त भएको थियो ।

यस वर्ष अवार्डको छनौट प्रक्रियालाई अझ व्यवस्थित र निष्पक्ष बनाउन १२ भन्दा बढीको जुरी समूहद्वारा ३ महिनासम्म विभिन्न चरणमा विजेताको छनौट गरिनेछ । स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार इन्नोभेसन विधामा ३ चरणको छनौट पश्चात् उत्कृष्ट ५ घोषणा गर्दै पब्लिक भोटिङ सञ्चालन गरिनेछ । अन्य विधाहरूमा पनि विभिन्न ४ चरणका भर्चुअल छनौट र फिल्ड भिजिट समेत सञ्चालन गरिनेछ ।

मंगलवार भर्चुअल प्रेस कन्फ्रेन्स आयोजना गर्दै आयोजकले विभिन्न ११ विधाको लागि नोमिनेशन खुल्ला गरेको हो । कन्फ्रेन्समा बोल्दै आयोजक समितिका संयोजक राजन लम्सालले हरेक वर्ष अवार्डलाई परिस्कृत गर्दै बृहत बनाउन लागि परेको बताए । उनले आइसिटी अवार्ड प्रविधि क्षेत्रमा सम्भावना र उत्कृष्टताको खोजी गर्ने अभियानको रुपमा अगाडी बढेको बताए । यसैगरी जुरी संयोजक शुशिल पोखरेल र प्रमुख जुरी संयोजक हेमपाल श्रेष्ठले आइसिटी अवार्ड लाई हरेक पक्षबाट स्तरिय र विश्वसनिय बनाउन लागिपर्ने धारणा व्यक्त गरे । प्रा.डा. शुवर्ण शाक्यले नेपालमा भएका अवार्डहरुमध्ये आइसिटी अवार्ड सबैभन्दा विश्वसनिय र निष्पक्ष रहेको बताए ।

भर्चुअल कार्यक्रममा बोल्दै्र पुर्वमन्त्री गणेश शाहले आइसिटी क्षेत्रलाई अझ फराकिलो बनाउदै लानुपर्ने र यसको लागि अवार्डले सार्थक बनाइरहेको बताए । यसैगरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिल दत्तले आइसिटी अवार्डले नेपालको आइसिटी क्षेत्रलाई प्रवद्धन गरेर बताउदै उनले नीजि तथा सरकारी क्षेत्रको सहकार्यमा डिजिटल नेपालका अभियान सार्थक बनाउनुपर्ने बताए । कार्यक्रममा पूर्व सहसचिव विरेन्द« मिश्र, क्यान महासंघका प्रथम अध्यक्ष बिमल शर्मा, प्रथम पायोनियर आइसिटी अवाडए विजेता मुनी शाक्यलगायतले अवार्डको महत्वको बारेमा बिचार राखेका थिए ।

अवार्ड विजेताहरूले विशिष्ट सम्मानसँगै विभिन्न सेवा र सुविधाहरू प्राप्त गर्नेछन् । विजेताले सहुलियतपूर्ण ऋण सुविधा र लगानीको अवसर समेत प्राप्त गर्नेछन् ।

आइसिटी अवार्ड २०२१ को कुन विधामा कसले दिने आवेदन ?

आइसिटी अवार्ड २०२१ मा नोमिनेशन गर्न आधिकारिक वेबसाइट www.ictaward.org मा गएर रजिस्ट्रेसनमा क्लिक गरी सम्बन्धित विधा (क्याटेगोरी) छनौट गरी आवश्यक अनलाइन फारम बुझाउनुपर्नेछ ।

१. स्टार्टअप आइसिटी अवार्ड

आइटी प्रडक्ट, सर्भिस तथा इन्नोभेसन क्षेत्रमा काम गरिरहेका कम्पनीहरूलाइ प्रवद्र्धन र प्रोत्साहन गर्ने यो अवार्डमा सहभागी हुन नेपालको प्रचलित कानून अनुसार कम्पनी दर्ता भएर सञ्चालनमा रहेको हुनुपर्नेछ । यस विधामा विगत ३ वर्षको अवधिमा दर्ता भएका कम्पनीहरूले आवेदन दिन सक्नेछन् । गतवर्र्ष यस विधामा क्रिप्टोजेन नेपाल प्रा.लि विजेता भएको थियो ।

२. प्रडक्ट आइसिटी अवार्ड

आइसिटी प्रडक्ट अवार्डमा कुनै नेपाली कम्पनी, संस्था, समूह  वा व्यक्तिले विकास गरेको आइटी तथा इन्नोभेटिभ प्रडक्टलाई नोमिनेशन दर्ता गराउन सकिनेछ । २०७७ वैशाखदेखि २०७८ चैत मसान्तसम्म सार्वजनिक भएका आइटी प्रडक्टहरूलाई लिएर यस विधामा नोमिनेशन दर्ता गर्न सकिन्छ । गतवर्ष सिपिएफडिएस एएमएल एण्ड केवाइसी म्यानेजमेन्ट सिस्टम विजेता भएको थियो ।

३. राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड

राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्डमा कलेज तथा विश्वविद्यालयका विद्यार्थीहरू तथा ३० वर्ष मुनिका युवाले तयार गरेका रिसर्च, इन्नोभेसन तथा प्रोजेक्टहरूलाई लिएर नोमिनेशन दर्ता गर्न सकिनेछ । यस विधामा गतवर्ष सेन्ट जेभियर कलेजका विद्यार्थीको ‘सन्चै छौ’ नामक प्रोजेक्टले अवार्ड प्राप्त गरेको थियो ।

४. पायोनियर आइसिटी अवार्ड

यो अवार्ड सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विशिष्ट योगदान दिएका अग्रज व्यक्तिलाइ प्रदान गरिन्छ । गतवर्ष नीलकण्ठ उप्रेती यस अवार्डबाट सम्मानित हुनुभएको थियो ।

५. नेपाली डायस्पोरा आइसिटी अवार्ड

नेपाली मूलका व्यक्ति, जो विदेशमा बसेर पनि देशको सूचना प्रविधिको क्षेत्रमा दिइरहेको योगदानलाई उच्च कदर गर्दै यो अवार्ड दिइनेछ । गतवर्ष अमेजनमा कार्यरत नेपाली गौरवराज उपाध्यायले अवार्ड प्राप्त गर्नुभएको थियो ।

६. आन्टरप्रेनर आइसिटी अवार्ड

आन्टरप्रेनर आइसिटी अवार्ड सूचना प्रविधि क्षेत्रमा क्रियाशील नेपाली उद्यमीलाई दिइनेछ । गतवर्ष यस विधाबाट भायानेटका प्रबन्ध निर्देशक विनय बोहरा विजेता हुनुभएको थियो ।

७. वुमन आइकन आइसिटी अवार्ड

वुमन आइकन आइसिटी अवार्ड सूचना प्रविधि क्षेत्रमा क्रियाशील नेपाली महिलाहरूका लागि लक्षित छ । गतवर्ष प्रा. तिमिला यमी थापा यस विधाबाट सम्मानित हुनुभएको थियो ।

८. डिजिटल एजुकेशन आइसिटी अवार्ड (पल्लिक सेक्टर)

डिजिटल एजुकेशन आइसिटी अवार्ड शिक्षा क्षेत्रलाई डिजिटल तथा प्रविधिमैत्री बनाउन प्रोत्साहन गर्ने उद्देश्यले सरकारी तथा सामुदायिक शैक्षिक संस्थानलाई प्रदान गरिन्छ । गतवर्ष बूढानीलकण्ठ विद्यालयले यस विधाबाट अवार्ड प्राप्त गरेको थियो ।

९. डिजिटल एजुकेशन आइसिटी अवार्ड (प्राइवेट सेक्टर)

यस वर्ष निजी क्षेत्रका शैक्षिक संस्थाहरूलाई पनि प्रोत्साहन गर्ने उद्देश्यले डिजिटल एजुकेशन आइसिटी अवार्ड (प्राइवेट सेक्टर) विधा थपिएको छ । निजी स्कुल, कलेज तथा शैक्षिक संस्थाहरूले यस विधामा नोमिनेशन दर्ता गर्न सक्नेछन् ।

१०. डिजिटल गभर्नेन्स आइसिटी अवार्ड (पब्लिक सेक्टर)

यस विधामा सरकारी सेवा तथा सुविधालाई डिजिटलिकरण गर्र्दै नागरिकलाई प्रविधिमैत्री सेवा दिन सफल सरकारी सस्था, निकाय, विभाग वा पालिकाहरूले नोमिनेशन दर्ता गर्न सक्नेछन । गतवर्ष आन्तरिक राजस्व विभागले डिजिटल गभर्नेन्स आइसिटी अवार्ड प्राप्त गरेको थियो ।

११. डिजिटल सर्भिसेस आइसिटी अवार्ड (प्राइभेट सेक्टर)

यस विधामा निजी क्षेत्रका संस्था, लिमिटेड वा सर्वसाधारणलाई सेवा दिइरहेका कम्पनीहरूले नोमिनेशन दर्ता गर्न सक्नेछन् । यसै वर्ष थपिएको यस विधामा आइटी तथा सफ्टवेयर कम्पनीहरू बाहेक अन्य सेवामूलक निजी क्षेत्रका कम्पनीहरू यसमा सहभागी हुन सक्नेछन् ।

यसैगरी गतवर्ष कोभिड १९ लाई लक्षित विधा एनसेल इन्नोभेसन ड्रिभन क्राइसिस रेसपोन्स आइसिटी अवार्ड पाइला इमर्जेन्सी रेसुसिएटरले प्राप्त गरेको थियो । जुरी मेन्शन अवार्ड २०२० हाम्रो स्वास्थ्य र मिडिया पर्सन अवार्ड किरण आचार्यले प्राप्त गर्नुभएको थियो ।

Leave a Comment