पहिलो त्रैमासमा नेपाल टेलिकमले कमायो रु 2 अर्ब नाफा, आय रु १० अर्बमाथि

नेपाल टेलिकम (एनटीसी)ले आर्थिक वर्ष २०८०/८१ को प्रथम त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गरेको छ। असोज मसान्तमा सकिएको यो त्रैमासमा कम्पनीले रु १० अर्बमाथिको आय आर्जन गरेको छ भने सोहो अवधिमा 2 अर्बमाथिको मुनाफा आर्जन गरेको छ। तर पनि यो दुवै सूचक भने गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ह्रास हो। कम्पनीद्वारा जारी गरिएको अलेखापरीक्षित बित्तिय विवरणबारे थप जानकारी निम्नानुसार छन।

रिपोर्ट अनुसार, नेपाल टेलिकमले चालु आ.व. को प्रथम त्रैमासिक अवधि (२०८० आश्विन मसान्त) सम्ममा कुल आय रु. १० अर्ब ६४ करोड ८७ लाख ९३ हजार आर्जन गरेको छ। यद्यपी, उक्त रकम गत आ.व. २०७९/८० को सोही अवधि (२०७९ असोज मसान्त) को कूल आय रु. ११ अर्ब ४ करोड ९० हजार को तुलनामा रु. ३९ करोड १२ लाख ९७ हजार (अर्थात् ३.५४ प्रतिशत) ले कम हो ।

यसैगरी टेलिकमले यस अवधिमा कुल सञ्चालन आयमा पनि केही ह्रास बेहोरनू परेको देखिएको छ। विवरणअनुसार चालु आ.व. को प्रथम त्रैमासिक अवधि (२०८० आश्विन मसान्त) सम्ममा कम्पनीको कुल सञ्चालन आय रु. ८ अर्ब ५८ करोड ५० लाख ६३ हजार रहेको थियो। उक्त रकम गत आ.व. को सोही अवधि (२०७९आश्विन मसान्त) को कुल सञ्चालन आय रु. ९ अर्ब ७ करोड ७५ लाख ८४ हजारको तुलनामा रु. ४९ करोड २५ लाख २१ हजार अर्थात, ५.४३ प्रतिशत ले कम हो।

यो नछुटाउनुहोस: तीव्र गतिमा इन्टरनेट चलाउन, फोन गर्न र टीभी हेर्नका लागि एनटी फाइबर

नाफामा केही ह्रास

चालु आ.व. को प्रथम त्रैमासिक अवधि (२०८० आश्विन मसान्त) सम्मको खुद मुनाफा रु. २ अर्ब २ करोड ७४ लाख ३२ हजार रहेको कम्पनीले जनाएको छ भने उक्त रकम गत आ.व. को सोही अवधि (२०७९ असोज मसान्त) को खुद मुनाफा रु. २ अर्ब २२ करोड ५५ लाख ६ हजारको तुलनामा रु. १९ करोड ८० लाख ७४ हजार (अर्थात, ८.९० प्रतिशत) ले कमी हो।

यसैगरी, कम्पनीको प्रति शेयर आम्दानी यस त्रैमासिक अवधिमा रु. ४५.०५ रहेको नेपाल टेलिकमको रिपोर्टमा उल्लेख छ।

यो पनि पढ्नुहोस: नेपाल टेलिकम द्वारा भिवोएलटिइ (VoLTE) सेवाको परीक्षण शुरुवात

यस्ता छन कम्पनीले आफ्नो आया र मुनाफामा कमी आउनुमा दिएको कारणहरु

गत आ.व. को प्रथम त्रैमासिक अवधिको तुलनामा चालु आ.व. सोही अवधिमा राजश्व तथा खुद मुनाफामा परिवर्तन हुनुका प्रमुख कारणहरु निम्नानुसार रहेका छन्ः

  • ओटीटी सेवाको बढ्दो प्रयोगका कारण अन्तरआबद्धता आयमा गत आ.व. को प्रथम त्रैमासिक अवधिको तुलनामा करिब रु. ४९ करोड १४ लाख ८५ हजारले कमी भएको ।
  • आर्थिक मन्दीको कारण कम्पनीको सेवा प्रयोगमा तुलनात्मक रुपमा कमी आएको ।
  • विदेशी विनिमय दरमा भएको परिवर्तनको कारण रु. ५ करोड ९९ लाख Foreign Exchange Gain भएको ।
  • प्रतिकुल मौसमका कारण विद्युत आपुर्ति तथा मर्मत सम्भार कार्य समयमा हुन नसकेकोले साईटहरु समयमा सञ्चालन हुन नसकेको ।
  • विभिन्न जनसरोकारका निकायले पूर्वाधार निर्माण, विस्तार, मर्मत, स्थानान्तरण एवं नगरपालिका र वडा कार्यालयले गर्ने केवल व्यवस्थापन कार्यका क्रममा कम्पनीले सेवा प्रवाह गर्न निर्माण गरेका कतिपय संरचनामा क्षति पुग्ने गरेको तथा नेटवर्क विस्तारमा समेत प्रभाव परेको ।
  • राष्ट्रको सञ्चार भएकोले बढी लागत तथा कम प्रतिफल प्राप्त हुने विकट तथा दुर्गम स्थानमा समेत सेवा विस्तार र गुणस्तर सुधारको कार्यमा निरन्तर लागिरहेको र लागत समेत बढिरहेको ।
  • सेवाको दररेट निर्धारण सम्बन्धी नीति तथा नियमहरु परिवर्तन भएको कारणले सेवाको दररेटमा कटौती भई राजश्वमा प्रतिकुल असर परेको ।
    बैंक व्याजदरमा भएको परिवर्तनका कारण वित्तीय आम्दानी करिब रु. १४ करोड ८१ लाखले कमी भएको ।

गतका वर्षहरुमा नेपाल टेलिकमले उत्साहजनक नाफा अर्जन गर्न नसकेको स्थिति छ। कम्पनीले यो स्थिति माथि उल्लेखगरे अनुसार सस्तोमा डेटा प्याक उपलब्ध गराउनुपरेको, बढ्दो ओटीटी सेवाको प्रयोग, परम्परागत भवाइस सेवा को न्यून प्रयोग, आदि कारणले सिर्जना भएको जनाउदै आएको छ। अवगत रहोस, टेलिकमकै प्रतिस्पर्धी एनसेलको पनि वित्तीय विवरणलाई आधार मान्ने हो भने उक्त कम्पनीको पनि आय र आम्दानी उल्लेखनीय हुन सकिरहेको अवस्था छैन। विशेष गरी कोभीड-१९ यता दूरसञ्चार क्षेत्रका निम्ति केही चुनौतीपूर्ण बनेको छ।

Leave a Comment