भुक्तानी सेवा प्रदायक कम्पनी खल्तीले पुल्चोक इन्जिनियरिङ क्याम्पससँगको सहकार्यमा स्नातक तहका विद्यार्थीहरूलाई ‘अप्लाइड फिनटेक इन्जिनियरिङ् कोर्स ’अध्ययन गर्ने सुविधा उपलब्ध गराएको छ। त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त यस पाठ्यक्रममा, फिन्टेकमा रुचि राख्ने स्नातक तहका विद्यार्थीहरूले समावेश हुन सक्नेछन्। पुल्चोक इन्जिनियरिङ क्याम्पसको स्नातक तहमा ‘इलेक्ट्रोनिक्स र कम्प्युटर’ विषय अध्ययनरत विद्यार्थीहरूले यस विषयलाई अन्तिम सेमेस्टरमा छनोट गर्न सक्नेछन्।
नेपालको शिक्षा प्रणालीलाई अझै उत्कृष्ट बनाउन व्यवहारिक शिक्षाको महत्वपूर्ण भूमिका रहेको अवस्थालाई मध्यनजर गर्दै खल्तीले अप्लाइड फिनटेक इन्जिनियरिङ् पाठ्यक्रम उपलब्ध गराएको हो । शिक्षा र व्यावहारिक जीवनमा देखिएको खाडललाई परिपूर्ति गर्ने उद्देश्यका साथ खल्तीले उपलब्ध गराएको यस पाठ्यक्रममा विद्यार्थीहरूले अहिलेको जल्दोबल्दो थुप्रै कम्पनी मध्यमा एक रहेको – फिनटेक कम्पनीको बारेमा त्यहाँका सदस्यहरूबाट प्रत्यक्ष रूपमा सैद्धान्तिक शिक्षा पाउनुका साथै व्यवहारिक ज्ञानलाई नजिकबाट नियाल्दै खल्तीको आफ्नै कार्यालयमा काम गर्दै अनुभव गर्ने मौका पाउनेछन्।
यो पनि पढ्नुहोस: ‘खल्ती’ डिजिटल वालेट र नेपाल बैंकबीच सहकार्य, अब बैंक खाताबाट सिधै भुक्तानी गर्न सकिने
कसले पढ्न पाऊँछन यो कोर्स?
“अप्लाइड फिनटेक इन्जिनियरिङ् कोर्स” फिनटेकमा रुचि राख्ने विद्यार्थीहरूको लागि उपलब्ध छ। पुल्चोक इन्जिनियरिङ क्याम्पसमा स्नातक तहमा इलेक्ट्रोनिक्स र कम्प्युटर विषय पढिरहेका विद्यार्थीहरूले अन्तिम सेमेस्टरमा यस पाठ्यक्रमका लागि आवेदन दिन सक्नेछन्।
यस नबिन सुरुवातका बारे खल्तीका संचालक समितिका सदस्य अमित अग्रवाल ज्यू भन्नुहुन्छ ,” “हामी फिनटेक क्षेत्रमा निकै समय अघि देखि आबद्ध भएका छौँ र यस क्षेत्रको आवश्यकता, सम्भावित अवसर र आउने चुनौतीहरलाई नजिकै बाट अनुभव गर्दै आएका छौँ। त्यसै अनुरुप हाम्रो फिनटेक क्षेत्रलाई बिकास गर्न आगामी दिनमा कस्तो सिप र ज्ञान भएका जनशक्तिको आवश्यकता पर्न सक्छ भन्ने कुराको अनुमान लगाउन सक्दछौँ। यी सबै कुराहरू मध्यनजर गर्दै हाम्रो फिनटेक क्षेत्रमा आउन चाहने युवाहरूलाई पाठ्यक्रम मार्फत नै आवश्यक सिप र ज्ञान प्रदान गर्ने उद्देश्यका साथ हामी अघि बढेका हौँ । आगामी दिनमा हामी जस्तै अरू संस्थाहरूले पनि यस्तै विभिन्न पाठ्यक्रमहरूको सिर्जना गरि शैक्षिक र व्यवहारिक ज्ञानमा रहेको अन्तरलाई कम गर्न मद्दत गर्नेछन् भन्ने कुरामा हामी आशावादी छौं ।”
खल्तीमा देशभरिका ३१ लाख भन्दा बढी प्रयोगकर्ताहरू, 1 लाख भन्दा बढी एजेन्ट, ६० हजार भन्दा मर्चेन्ट , ५० भन्दा बढी बैंक तथा वित्तिय संस्था, १५०० भन्दा बढी सहकारीहरू र ३०० भन्दा बढी कर्मचारी को परिवारमा रूपान्तरण भएको छ। सम्पूर्ण नेपालीहरूमा वित्तीय साक्षरता पुर्याउने उद्देश्यका साथ खल्तीले आफ्ना डिजिटल सेवा मार्फत बिल भुक्तानी, मोबाइल र टिभी रिचार्ज, हवाई, सिनेमा, र इभेन्ट टिकट बुकिङ, बीमा शुल्क, इ-कमर्सहरू, सरकारी राजस्व, फोहोर व्यवस्थापन बिलहरू, र अन्य थुप्रै डिजिटलाइज्ड सेवाहरू उपलब्ध गराउँदै आएको छ।